गगनको गम्भीर आरोप-प्रधानमन्त्री बालेन आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेलमा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस का सभापति गगनकुमार थापा ले प्रधानमन्त्री बालेन्द्र साह ले आफू निकट व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन विभिन्न जालझेल गरिरहेको आरोप लगाएका छन्।

बुधबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री साहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउनकै उद्देश्यले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको जिकिर गरे।

सभापति थापाले संसद अधिवेशन आह्वान गर्ने र बन्द गर्ने क्रमसमेत सरकारको योजनाबद्ध प्रपञ्च भएको आरोप लगाए। उनका अनुसार संवैधानिक परिषद्माथि नियन्त्रण कायम राख्न सरकारले अध्यादेशमार्फत सम्बन्धित कानुन संशोधन गरेको हो।

उनले प्रधानमन्त्री साहले आफू निकट व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजेको कुरा आफ्नो पार्टीलाई स्वीकार्य नहुने चेतावनीसमेत दिए ।

उनले भने, ‘भोलि बेलुका ५ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा धारणा बनाएको छ । तर संवैधानिक परिषद्मा छलफल गरेर योग्य उम्मेदवार चयन गर्ने प्रक्रियाभन्दा पनि आफूले प्रस्ताव गरेको नाम जसरी पनि पारित गराउने तयारी भइरहेको देखिन्छ।

प्रधानमन्त्री, सभामुख र कानूनमन्त्री मिलेर बहुमतका आधारमा निर्णय गराउने प्रयास भइरहेको छ । आफूले खल्तीबाट झिकेको नाम प्रधानन्यायाधीश बनाउने प्रवृत्ति आपत्तिजनक छ । संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रणमा राख्न संसद आह्वान गर्ने, संसद अन्त्य गर्ने जस्ता सबै प्रपञ्च रचिएको छ।

अघिल्लो प्रधानमन्त्रीले पनि यस्तै गर्न खोज्नुभएको थियो, त्यो बेला हामीले रोक्यौँ । अहिले अध्यादेश जारी भइसकेकाले रोक्न सकेनौँ । तर अहिले भइरहेको काम र विगतमा भएको प्रयासबीच कुनै फरक छैन।

अघिल्लो प्रधानमन्त्रीले आफ्ना मान्छे नियुक्त गर्न जालझेल गर्नुभयो, अहिलेका प्रधानमन्त्रीले पनि त्यही गरिरहनुभएको छ । यसमा नेपाली काँग्रेसको स्पष्ट असहमति छ । हामीले यो विषय संसदमा पनि उठाउनेछौँ।

प्रधानमन्त्री साहले बिहीबार अपराह्न ५ बजेका लागि संवैधानिक परिषद् को बैठक बोलाएका छन् । सभापति थापाले उक्त बैठक प्रधानन्यायाधीश नियुक्तिलाई लक्षित गरेर बोलाइएको दाबी गर्दै यस्ता गतिविधि लोकतान्त्रिक मूल्य र संवैधानिक प्रक्रियाविपरीत भएको टिप्पणी गरे ।