अब हुने नियुक्ति प्रक्रिया निष्पक्ष र त्रुटिविहीन बनाउन डा‍.केसीको माग

काठमाडौं। प्राध्यापक डाक्टर गोविन्द केसीले शिक्षा र स्वास्थ्यलगायत निकायमा राजनीतिक नियुक्ति खारेज गर्ने अध्यादेशबारे ध्यानाकर्षण भएको बताएका छन्। आज विज्ञप्ती जारी गरेर उनले करिब सोह्र सय पद एकैपटक रिक्त भएपछि पदपूर्ति चुनौतीपूर्ण हुने उल्लेख गर्दै नियुक्ति प्रक्रिया निष्पक्ष र त्रुटिविहीन बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले निष्पक्ष नियुक्ती हुनुपर्ने माग गर्दै विगतझैँ शिक्षा मन्त्रीको संयोजकत्वमा चयन समिति गठन भएको र पदाधिकारी चयन पुनः राजनीतिक प्रभावमा पर्ने आशंका व्यक्त गरेका छन्। उनले नियुक्तिका मापदण्ड र आधार सार्वजनिक नगरिएकोप्रति पनि आपत्तिसमेत जनाएका छन्।

सरकारलाई विगतका सहमति, प्रतिवेदन र प्रस्तावित विधेयकअनुसार मात्र प्रक्रिया अघि बढाउन उनले विज्ञप्तीमार्फत आग्रह गरेका छन्। उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायसम्बन्धी मागहरू कार्यान्वयन गर्न अनुरोध गर्दै आवश्यक परे दबाबमूलक कार्यक्रम सुरु गर्न सकिने चेतावनीसमेत दिएका छन्।