सांसदहरूको अबदेखि विद्युतीय हाजिरी,बायोमेट्रिक विवरण लिइँदै
काठमाडौं। सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरूको विद्युतीय हाजिरी व्यवस्थापनका लागि बायोमेट्रिक विवरण सङ्कलन गर्ने भएको छ । सचिवालयले सूचना जारी गर्दै सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन अनुरोध गरेको हो।
संसद् भवन सिंहदरबारमा हुने बायोमेट्रिक विवरण सङ्कलनसँगै सांसदहरूको औपचारिक तस्बिर पनि खिचिने सचिवालयले जनाएको छ। त्यसका लागि औपचारिक पोशाकमा सङ्घीय संसद्को लोगो लगाएर उपस्थित हुन आग्रह गरिएको छ।
संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई आज बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा र सोही समयमा अर्थ समितिका सदस्यहरू र विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ।
त्यस्तै उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूलाई आज दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको भने कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन अनुरोध गरिएको छ ।
त्यस्तै शुक्रवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूलाई बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा र पूर्वाधार विकास समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ।
त्यस्तै महिला तथा सामाजिक मामिला समितिका सदस्यहरूलाई शुक्रवार दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ।
यस्तै, वैशाख २८ गते सार्वजनिक लेखा समितिका सदस्यहरू बिहान १० बजेदेखि १२ बजेसम्म सभाकक्षमा र सोही समयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूलाई अर्थ समितिको हलमा उपस्थित हुन सचिवालयले आग्रह गरेको छ।
