प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णयप्रति राष्ट्रियसभा अध्यक्ष र विपक्षी नेताको असहमति
काठमाडौं। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माको नाम सिफारिस गर्दा दुई जना सदस्यले असहमति जनाएका छन्।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले चौथो वरियताका शर्माको नाम प्रस्ताव गरेका थिए। त्यसमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले असहमति जनाएका हुन्।
उनीहरूले विधि र स्थापित परम्परा तर्क राख्दा प्रधानमन्त्री शाहले क्षमता र योग्यताका आधारमा शर्मा नै उपयुक्त पात्र भएको तर्क गरेको ती सदस्यको भनाइ छ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो। संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन्।
