भ्रष्टाचारको आरोपमा चीनमा दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्ड
काठमाडौं । चीनका दुई पूर्वरक्षामन्त्री वेई फेंगहे र ली शांगफूलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड सुनाइएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार चीनको सैन्य अदालतले दुवैलाई छुट्टाछुट्टै सजाय सुनाएको हो। वेईलाई घुस लिएको दोषी ठहर गरिएको छ भने लीलाई घुस लिने र दिने दुवै आरोपमा दोषी ठहर गरिएको बताइएको छ।
दुवैलाई मृत्युदण्ड सुनाइए पनि दुई वर्षको समय दिइएको जनाइएको छ । वेई र उनका उत्तराधिकारी लीलाई सन् २०२४ मा सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीबाट निष्कासित गरिएको थियो। उनीहरू राष्ट्रपति सी जीनपीङ अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका पूर्व सदस्यसमेत थिए।
वेई फेंगहेले सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनका उत्तराधिकारी ली शांगफूले भने केही महिनामात्र उक्त पदमा काम गरेका थिए । दुवैले पिपुल्स लिबरेशन आर्मी अन्तर्गतको महत्त्वपूर्ण रकेट फोर्सको नेतृत्व गरेका थिए। उक्त फोर्स सन् २०१५ मा सी जीनपीङको सैन्य सुधार कार्यक्रमअन्तर्गत स्थापना गरिएको थियो । ली शांगफूलाई सी चिनफिङले व्यक्तिगत रूपमा उच्च रक्षा पदका लागि चयन गरेका थिए । तर उनलाई पदबाट हटाइएपछि रकेट फोर्सका धेरै उच्च अधिकारीलाई पनि भ्रष्टाचारको आरोपमा हटाइएको थियो।
सन् २०१२ मा सत्तामा आएपछि राष्ट्रपति सीले व्यापक भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका छन्। यस अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढी अधिकारीमाथि कारबाही गरिएको बताइएको छ, जसमा धेरै उच्च सैन्य अधिकारी र जनरलसमेत रहेका छन्।
यो अभियान मुख्य रूपमा चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार अन्त्य गर्न केन्द्रित रहेको बताइएको छ।
