प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा पेस भएका रिटहरू दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरिदिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा.प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका थिए। उक्त रिटहरू दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।

रिट पेश भएदेखि नै प्रशासनले माथिको आदेश भन्दै दर्ताका लागि आनाकानी गरेको थियो।

संवैधानिक परिषद्को निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकाले रिट दर्ता गरिएको त्रिपाठीले बताएका थिए। रिटमा संवैधानिक परिषद्को निर्णय यथास्थितिमा राख्न र संसदीय सुनुवाइको प्रक्रिया अघि नबढाउनु अन्तरिम आदेश माग गरिएको थियो।

रिटमा वैशाख २४ गते ४८ घण्टाको समय समेत नदिई बोलाएको र प्रधानन्यायाधीशमा गरिएको सिफारिस संवैधानिक नभएकाले बदर गर्न माग पनि गरिएको थियो।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश बन्न योग्यता पुगेका ६ मध्ये चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँल डा। शर्मा भन्दा वरिष्ठ न्यायाधीश हुन्।