हल्लाको पछि नलाग्नुस्, व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन: अर्थमन्त्री

काठमाडौं।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले उद्योगी–व्यवसायीलाई धरपकड गर्दै छ भन्ने हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन्। शुक्रबार (वैशाख २५) साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

निजी क्षेत्रका व्यवसायीलाई थुन्ने, धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र होइन,उनले भने,तपाईंहरू हल्लाको पछि नपर्नुस्, तपाईंहरू हाम्रो साझेदार हो।

१०० बिलियन डलरको अर्थतन्त्र बनाउने सरकारी योजनाको निजी क्षेत्र साझेदार रहेको पनि उनले बताए । उनले सरकारका पाँच प्राथमिकताबारे प्रस्ट्याए।

उनका अनुसार, सरकारको पहिलो प्राथमिकता सुशासन हो । दोस्रो, अर्थतन्त्रको पुनरुत्थान हो । तेस्रो, मुलुकमा आन्तरिक र बाह्य कनेक्टीभिटी हो । चौथो प्राथमिकता सामाजिक लगानी हो । पाँचौँ प्राथमिकता पर्यटन, संस्कृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार गर्नु रहेको उनले बताए।

अर्थतन्त्रको ‘जहाज’ मोड्ने अवस्थामा मुलुक रहेको भन्दै उनले त्यसनिम्ति आउँदो बजेटसम्म पर्खन उद्योगी–व्यवसायीलाई आग्रह गरे।

राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उनले उदाहरण दिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र हाल नेपालको अर्थतन्त्रका केही सूचक समान रहेको बताए।

“सन् २०१४/०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालकै अहिलेकै हाराहारी थियो । तर, पछिल्लो १२ वर्षमा त्यो फड्को मारेर कहाँबाट कहाँ पुग्यो । हामी पनि सोही बाटो लाग्ने बेला भएको छ,अर्थमन्त्री वाग्लेले भने।