सरकारले नीति तथा कार्यक्रममा १०० बुँदे वाचापत्रकै भावना समेट्न सकेन: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नीति तथा कार्यक्रम, प्रधानमन्त्रीको आचरण र संसदीय मर्यादामाथि टिप्पणी गर्दै गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले दीर्घकालीन योजनालाई पहिले ‘हावादारी’ भन्दै आलोचना गर्नेहरू अहिले तिनै एजेन्डा नीति तथा कार्यक्रममार्फत दोहोर्याउन बाध्य भएको बताएका हुन् । उनले ‘पुरानाले गरेनन्, हामी गर्छौं’ भन्ने दलको नीति तथा कार्यक्रम सुन्दा विगतभन्दा फरक दृष्टिकोण वा नयाँ सोच नदेखिएको टिप्पणी गरेका छन्।

महासचिव पोखरेलले नीति तथा कार्यक्रमले सरकारकै १०० बुँदे वाचापत्रको भावना समेत समेट्न नसकेको उल्लेख गरेका छन्। उनले प्रश्न गर्दै भनेका छन्, ‘सुरुकै नीति तथा कार्यक्रमको अवस्था यस्तो छ भने बजेट आउँदासम्म के होला ?

पोखरेलले सरकारको पहिलो नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने समारोहमा प्रधानमन्त्री बालेनको अनौपचारिक पोशाक र राष्ट्रपतिको सम्बोधन नसकिँदै संसदबाट बाहिरिएको घटनाप्रति पनि असन्तुष्टि जनाएका छन्।

उनले उक्त घटनाले नयाँ भनिने शक्तिहरूको संसदीय आचरण र भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्। उनले जनताले ठूलो अपेक्षा र बलियो जनादेश दिएको कुरा रास्वपाका नेताहरूले बुझ्न नसके मुलुक पुनः द्वन्द्व र अस्थिरतामा फस्न सक्ने चेतावनी दिँदै महासचिव पोखरेलले नेताहरूलाई गम्भीर र सचेत बन्न आग्रह गरेका छन्।