बालेन सवार गाडीमाथि अख्तियारको चासो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको तर बालेन सरकारको नजरमा नपरेका व्यापारी कमलकिशोर मालपानीको कम्पनीले करोडौ रुपैया राजश्व छली गरेको पाइएको छ। अख्तियार स्रोतका अनुसार ल्यान्ड रोभर डिफेन्डर गाडी आयातको क्रममा २ करोड २१ लाख ६०हजार राजश्व छलि गरेको कुरा पहिल्यै बाहिर आइसकेको छ।
हालका प्रधानमन्त्री तथा तत्कालीन काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई चुनाव प्रचार प्रसारका क्रममा प्रयोग गरेको ल्यान्ड रोभर डिफेन्डर गाडी प्रयोग गर्न दिएका मालपानीको कम्पनीले राजश्व छलि गरेको देखिए पनि स्वयं बालेन सरकार मौन बसेको छ ।
करेन्ट चाउचाउ उद्योगका मालिक कमलकिशोर मालपानीका छोरा रितेश मालपानीले सो गाडी भैरहवाका एक रास्वपाका कार्यकर्तामार्फत बालेनलाई उपलब्ध गराएका थिए । राज्य सत्ताको दुरुपयोग गर्दै सेटिङमा उक्त गाडी नेपाल आयात गरेको पाइएको छ । विवादित ब्यवसायीको गाडी बालेनले चढेर हिँडेको भन्दै आलोचना भएपछि बालेनले उक्त गाडी छोडेर गोल्डस्टारकी मालिक तथा रास्वपाकी सांसद विदुषी राणाले अर्को गाडी दिएकी थिइन् ।
काठमाडौँको ज्ञानेश्वरमा कार्यालय रहेको काइरोस इन्टरनेसनल मालपानी परिवारसँग नजिकको सम्बन्ध रहेको कम्पनी भएको बताइन्छ । सो कम्पनीले सन् २०२४ यता ल्यान्ड रोभर कम्पनीका विभिन्न मोडलका १५ वटा सवारी साधन नेपाल आयात गरेको पाइएको छ । जसमा पनि राजश्व छलि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।
भन्सार जाँचपासका कागजात, प्राविधिक स्पेसिफिकेसन र वास्तविक सवारी विवरण आपसमा तुलना गर्दा ती १५ मध्ये ४ वटा सवारी साधनमा भन्सार छली भएको देखिएको भन्सार विभागका अधिकारीहरूले जनाएका छन् । आयातका क्रममा इन्जिन क्षमता, इन्धन प्रकार र प्रविधि गलत विवरण दिई कम भन्सार दर लागू गरिएको पाइएको हो ।
अख्तियारको प्रारम्भिक छानबिनमा ल्यान्ड रोभर डिफेन्डर ११० मोडलका दुई वटा सवारी साधनमा गम्भीर अनियमितता देखिएको थियो । ती दुवै गाडी २९९६ सीसी क्षमताका डिजेल इन्जिनयुक्त भए पनि भन्सार जाँचपासका क्रममा पेट्रोल इन्जिन प्लग–इन हाइब्रिड भनेर उल्लेख गरिएको पाइएको छ ।
डिजेल इन्जिन भएका सवारी साधनमा ३५८.६७ प्रतिशत भन्सार लाग्ने व्यवस्था हुँदाहुँदै गलत विवरणका आधारमा २५७।९८ प्रतिशत मात्र भन्सार लगाई जाँचपास गरिएको थियो । यसरी दुई वटा गाडीबाट मात्रै १ करोड ५० लाख रुपैयाँ राजस्व छली भएको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले अन्य गाडी र सामान खरिदको विषयमा कागाजात मगाएर अनुसन्धान गरिरहेको छ ।
यसअघि मालपानीको श्रीराम टोबाको उद्योग प्रालिमार्फत उत्पादित सुर्तीजन्य पदार्थमा अन्तःशुल्क स्टिकर नलगाई बजारमा पठाएको आरोपमा राजस्व अनुसन्धान विभागले २०७४ सालमै छापा मारेको थियो । छापाका क्रममा करेन्ट र भोला ब्रान्डका करिब २५ सय बोरामा अन्तःशुल्क स्टिकर नलागेको पाइएको थियो । अनुसन्धानपछि अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरसमेत गरी १० करोडभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो । तर, उच्च अदालत तुलसीपुरको फैसलाले उद्योगका मुख्य लगानीकर्ता र संचालकहरूलाई उन्मुक्ति दिँदै खुद्रा व्यापारीहरूलाई कडा सजाय सुनाएका थियो ।
यही मालपानी समूहसँग जोडिएको अर्को गम्भीर विषय कमल किशोर मालपानीको नागरिकता प्रतिलिपी पनि हो । भारतीय नागरिकका छोरा मालपानीले वंशजको आधारमा जन्मपछि ३५ वर्षपछि मात्रै नागरिकता प्राप्त गरेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ । उनले सप्तरीबाट जारी नागरिकताको प्रतिलिपि नियमविपरीत रूपन्देहीबाट निकालेका थिए ।
कानूनअनुसार यस्तो सुविधा सरकारी कर्मचारीबाहेक सामान्य नागरिकलाई उपलब्ध हुँदैन । उनले नागरिकताका लागि पनि राज्य संयन्त्रमा प्रभाव, पहुँच र ‘सेटिङ’ गरेको आरोप लाग्ने गरेको छ । मालपानी समूहविरुद्ध अहिले पनि करोडौँ रुपैयाँको राजस्व छली सम्बन्धी फौजदारी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
