बादलका कुन–कुन शब्द संसद् रेकर्डबाट हटाइयो ?

काठमाडौं । रामबहादुर थापा बादलले संसद्मा प्रयोग गरेका केही अभिव्यक्ति असंसदीय ठहर गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदीय रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत भएको भन्दै सभामुखले “अराजकहरूको भिड,राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू” र नेपाली सेना मुकदर्शक” भन्ने शब्द अभिलेखबाट हटाइएको जानकारी गराएका हुन्।

सभामुखको रूलिङपछि एमाले प्रमुख सचेतक ऐन महरले कुन शब्द हटाइएको हो भन्ने स्पष्ट पार्न माग गरेका थिए। त्यसपछि सभामुख अर्यालले हटाइएका अभिव्यक्तिबारे जानकारी दिएका हुन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी, जेनजी आन्दोलन र नेपाली सेनाबारे टिप्पणी गर्दै देश खरानी हुँदा सेना किन मूकदर्शक बन्यो ? भन्दै प्रश्न उठाएका थिए। उनले लिपुलेक अतिक्रमणदेखि सुकुम्बासी बस्तीमा सेनाको भूमिकामाथि पनि टिप्पणी गरेका थिए।

बादलको अभिव्यक्तिप्रति रास्वपा सांसदहरूले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए । बुधबारको बैठकमा पनि सत्तारुढ रास्वपा सांसदहरूले उक्त माग दोहोर्‍याएका थिए।

प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले अशिष्ट, अपमानजनक,आपत्तिजनक वा असंसदीय शब्द प्रयोग गर्न पाउँदैनन्। कुनै व्यक्ति, समुदाय,धर्म वा संस्थालाई होच्याउने अभिव्यक्ति दिन नहुने पनि नियमावलीमा उल्लेख छ।