मन्त्रीको निर्देशनपछि आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा भोलिदेखि लागू हुने छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनपछि उनले पद छाडेको स्रोतको दाबी छ। पछिल्लो समय सरकारले विभिन्न सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरूको विषयमा पुनरावलोकन गरिरहेको सन्दर्भमा भट्टको राजीनामा आएको हो।
भट्टलाई तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० फागुन २६ गते तीन वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो। सरकारले सार्वजनिक संस्थानका नियुक्त पदाधिकारी हटाउने सम्बन्धी अध्यादेश ल्याए पनि नेपाल आयल निगम त्यसको दायरामा परेको थिएन। त्यसपछि मन्त्री गौरीकुमारी यादवले उनलाई राजीनामा दिन आग्रह गरेकी थिइन्।
