पहिले थुन्ने,अनि सुन्ने’ सरकारको शैलीमाथि झाँक्रीको प्रहार

काठमाडौं। रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउनुको सट्टा भय र त्रास सिर्जना गरेको आरोप लगाएकी छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई “पहिले थुन्ने अनि सुन्ने” शैली अपनाएर आतंकित बनाएको टिप्पणी गरिन्।

उनले भनिन्,अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा मानिसमा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ। यस्तो अवस्थाले नयाँ बाटो दिन सक्दैन।

झाँक्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमहरूको निरन्तरता मात्रै भएको बताइन्। उनका अनुसार सरकारले जनताले दिएको ठूलो जनमतलाई परिवर्तन र रूपान्तरणका लागि उपयोग गर्न सकेन।

“पुरानै कार्यक्रम दोहोर्‍याएर लेखिएको छ । यति ठूलो जनमत पाएको सरकारले सबै क्षेत्रमा नयाँ ‘डिपार्चर’ गर्ने अवसर गुमाएको छ,” उनले भनिन् ।

सरकारले सुशासन र सेवा प्रवाहमा जोड दिएको दाबी गरे पनि नागरिकता, राहदानी र जग्गाधनी पुर्जा बाँड्नु मात्रै ‘डेलिभरी’ नभएको उनको भनाइ थियो ।

उनले सबै वर्ग र समुदायको मानवअधिकार तथा मौलिक हक सुनिश्चित गर्न सरकारसँग आग्रह समेत गरिन् ।