जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो
काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ ।
सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर ४ प्रतिशतबाट बढाएर ४ दशमलव ०५ प्रतिशत पुर्याएको छ भने ७ वटाले घटाएका र १२ बैंकले स्थिर राखेका छन् । वैशाखमा औसत ४ दशमलव ४ प्रतिशत रहेकोमा जेठमा औसत ४ दशमलव ३ प्रतिशतमा झरेको छ ।
जेठमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको ४ दशमलव ७५ प्रतिशत र सबैभन्दा कम कुमारी बैंकको ३ दशमलव ९६ प्रतिशत छ ।
लामो समयदेखि बैंकहरूसँग कर्जा लगानीयोग्य रकम उच्च भएकाले ब्याजदर घटिरहेको हो। अहिले बैंकहरूसँग झन्डै १२ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम छ । कर्जा प्रवाह कमजोर भएकाले बैंकहरूले २ दशमलव ५० देखि ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ७९ खर्ब ५९ अर्ब निक्षेप रहेकोमा ५८ खर्ब ७७ अर्ब रुपैयाँमात्रै कर्जा लगानी भएको छ।
यसैबीच बैंकहरूको अधिकतम ब्याजदर ४ देखि साढे ४ प्रतिशत रहेकोमा नेपाल राष्ट्र बैंक अनुसार चैत महिनामा उपभोक्ता मुद्रास्फीतिदर ४ दशमलव ४७ प्रतिशत पुगेको छ । मुद्दतीको अधिकतम ब्याजदर नै मुद्रास्फीतिभन्दा तल झरेपछि वित्तीय क्षेत्रमा जोखिम बढेको विज्ञहरू बताउँछन् र यस्तो अवस्थामा मानिसहरूले बैंकमा पैसा राख्ने क्रम घट्न सक्ने चिन्ता व्यक्त भएको छ।
