श्रीकृष्ण विक प्रकरण: इन्सपेक्टर र प्रहरी जवानलाई विभागीय कारबाही

काठमाडौं। सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा मृत फेला परेका श्रीकृष्ण विक प्रकरणको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयमा पठाइएको छ।

डीआईजी दिनेशकुमार आचार्य नेतृत्वको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदनमा इन्सपेक्टर बसन्त भुजेल र प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गरिएको स्रोतले जनाएको छ।

प्रतिवेदनपछि इन्सपेक्टर भुजेललाई खुर्कोटबाट बागमती प्रदेश कार्यालय सरुवा गरिएको छ भने अन्य १० प्रहरीलाई सचेत गराउन सिफारिस गरिएको छ।

श्रीकृष्ण विक वैशाख ७ गते हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रेम सम्बन्धमा रहेकी १६ वर्षीया किशोरीको बलात्कार आरोपमा अनुसन्धानका लागि उनलाई खुर्कोट लगिएको थियो।