आज देशभर वर्षाको सम्भावना
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ। हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
