जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरुसँग आज छलफल गर्ने भएका छन्।

थापाले आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल लागि बोलाएका हुन्।कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो।

१८ जना जेनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको छ। उक्त कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा. खनाल लगायत सहभागी हुने छन्।

सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कांग्रेसले छुट्टै तयारी गरिरहेको छ। उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कार्यदल बनाएर संविधान संशोधनको लागि सुझाव संकलन गरिएको छ।

संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति’ को सदस्यहरूमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सदस्य छन् । उक्त समितिले दुई चरणको छलफल गरिसकेको छ। संविधानविदहरुसँग राय सङ्कलनका लागि छलफल गरिसकेको समितिले आज जेनजी अगुवाहरूलाई बोलाइएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र तयारी छलफलमा भने कांग्रेस सहभागी भएको छैन। शाह नेतृत्वको कार्यदलले जेनजी अगुवाहरूको संविधान संशोधनमा राय संकलन गर्न बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए।