थानकोटमा घरायसी विवादमा युवकको हत्या, भिनाजु पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ ।
शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन् । प्रहरीका अनुसार गएराति करिब ९ः१५ बजे उनीहरूबिच घरायसी विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि अहमदले तरकारी काट्ने चक्कुले अन्दाजी २०–२५ वर्षीय जाकिरमाथि प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका महोत्तरीको गौशाला नगरपालिका–५ का जाकिरलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेड पोइन्ट अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राति ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने समि अहमदलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरेको छ भने मृतकको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।
