ओलीलाई अष्टलक्ष्मीको सुझाव- यही बैठकबाट बिदा लिनुस्
काठमाडौं। नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स-सम्मान अध्यक्ष पदबाट बिदा लिन आग्रह गरेकी छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेतृ शाक्यले ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै नेतृत्व पुस्तान्तरण गर्न जोडदार माग गरेकी हुन्। अध्यक्ष ओलीले तीन कार्यकाल नेतृत्व गरिसकेको स्मरण गराउँदै उनले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी छन्।
‘सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ,शाक्यले ओलीलाई लक्षित गर्दै लेखेकी छन्,कमरेडले यही बैठकबाट स-सम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ। नेकपा एमाले पुनर्जीवित गर्न,अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ।
निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको पार्टी कमजोर स्थितिमा पुगेको भन्दै उनले ओलीको कार्यशैलीप्रति कडा प्रहार गरेकी छन्। एमाले लाखौं कार्यकर्ताहरूको त्याग, संघर्ष र बलिदानको रगतले जन्मेको पार्टी भएको स्मरण गराउँदै उनले यसलाई व्यक्तिको पेवा वा गुटको कम्पनी नठान्न चेतावनी दिएकी छन्।
