एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित गोंगबुबाट दुई युवक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही ठाउँका २२ वर्षीय ओमशंकर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले जानकारी दिए। गुप्ता काठमाडौं महानगरपालिका–३२, नरेफाँटमा बस्दै आएका थिए।

एसपी भट्टराईले भने, “काठमाडौं टोखा नगरपालिका–९, गोंगबु शिव मन्दिरस्थित काबेली गेस्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउन्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एकथान र मेटलको नक एकथानसहित उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता भट्टराईले बताए।