एक्लिए ओली, बहुमत सचिवालय सदस्यहरूले मागे राजीनामा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बहुमत देखिएको छ । शुक्रवार र शनिवारको बैठकमा सहभागी सचिवालय सदस्यहरूमध्ये ८० प्रतिशतले पार्टीको रुपान्तरण र पुनर्गठनका लागि ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् ।

१९ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीसहित महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत विगतमा ओली निकट मानिएका नेताहरूले समेत पार्टी पुनर्गठनमा जोड दिएका छन् । शुक्रवार चार उपाध्यक्ष र शनिवार महासचिव शङ्कर पोखरेलसहित तीन उपमहासचिव तथा पाँच सचिवले ओलीलाई पद त्याग गरी पार्टी बचाउन आग्रह गरेका हुन् ।

सचिव महेश बस्नेत मात्र खुलेर ओलीको पक्षमा उभिएका छन् । बैठकमा सचिव हिक्मत कार्की, पद्मा अर्याल, राजन भट्टराईलगायतले तल्लो तहमा पार्टी चलाउन नसकिने अवस्था रहेको बताए । उनीहरूले ओलीलाई पद छाड्न आग्रह गरेका हुन् । तर, अध्यक्ष ओलीले यी सबै प्रस्तावको प्रतिवाद गरेका छन् । ‘मलाई कसैले सम्झाउनु पर्दैन। यो पद मैले चुनाव जितेर पाएको हो, छोड्दिनँ,’ ओलीले बैठकमा भने ।

शनिवार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले भने सङ्कटको बेला नेतृत्वलाई साथ दिनुपर्ने बताएका थिए। बैठकमा अहिलेसम्म १० जनाले पुनर्गठनको पक्षमा बोलेका छन् भने ओलीको पक्षमा रामबहादुर थापा र महेश बस्नेत मात्र देखिएका छन्।

आज आइतबार बिहान साढे ११ बजे ओली निवास गुण्डुमा बस्ने बैठकमा सचिव शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारीलगायतले धारणा राख्नेछन्। बैठकले कार्यविभाजन, केन्द्रीय कमिटी बैठक आह्वान, संविधान संशोधन र निर्वाचन समीक्षा कार्यदल गठन गर्ने बताइएको छ।