बैङ्क तथा वित्तीय संस्थामा अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी दिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।

एकीकृत निर्देशन २०८२ संशोधन गर्दै राष्ट्र बैङ्कले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र बाध्य पार्न नपाइने नयाँ व्यवस्था गरेको हो।

यसअघि निर्देशन नम्बर १४ को बुँदा नम्बर ३ मा बैङ्क तथा वित्तीय संस्थाको सञ्चालन समयलाई राष्ट्र बैङ्कको कार्यसमयसँग मिलाउनुपर्ने व्यवस्था मात्र उल्लेख थियो। जसका कारण बैङ्क तथा वित्तीय संस्थालाई अतिरिक्त समय वा सार्वजनिक बिदामा सञ्चालन गर्नुपर्दा केवल जानकारी दिने व्यवस्था मात्र थियो भने कर्मचारीको ओभरटाइम वा अतिरिक्त कामबारे स्पष्ट व्यवस्था थिएन।

नयाँ संशोधित व्यवस्थामा राष्ट्र बैङ्कले भनेको छ- ‘इजाजतपत्रप्राप्त संस्थाले कर्मचारीलाई प्रचलित कानूनअनुसार मात्र अतिरिक्त समयमा काममा लगाउनु पर्नेछ । अतिरिक्त समयमा काम गराउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक दिनुपर्नेछ र कर्मचारीलाई बाध्य पार्न पाइने छैन।

यस संशोधनसँगै बैङ्क तथा वित्तीय संस्थाले अब अतिरिक्त समय कर्मचारीलाई काम गराएमा अनिवार्य ओभरटाइम भुक्तानी दिनुपर्ने भएको छ।