रवि लामिछाने अर्को साता भारत जाँदै

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । बालेन शाहको नेतृत्वमा रास्वपाले सरकार बनाएपछि लामिछाने पहिलो पटक भारत भ्रमण गर्ने लागेका हुन् । भारतको विदेश मन्त्रालयको निमन्त्रणमा उनी अर्को साता दिल्ली जान लागेका हुन् ।

जुन १-२ (जेठ १८-१९) मा हुने भ्रमणको क्रममा लामिछानेसँग भारतीय विदशेमन्त्री एस जयशंकर र अन्य मन्त्रीहरू, विदेश सचिव विक्रम मिश्रीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने जनाइएको छ ।

लामिछानेको यो भ्रमण पार्टीगत भएकाले उनलाई भारतको सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गर्ने तयारी छ । जहाँ उनले भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नेछन् ।

भारतले सत्तारुढ पार्टीका प्रमुख नेताहरूलाई विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गराउँदै आएको छ । यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गरिसकेका छन् । देउवा र प्रचण्ड दुवै भाजपा मुख्यालय पनि पुगेका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला सभापति लामिछाने दिल्ली जान लागेका हुन् । निर्वाचनपछि दुई तिहाइ बुहमतसहित सरकार बनाएपछि रास्वपा सभापति लामिछानेको पहिलो भारत भ्रमणलाई चासोका साथ हेरिएको छ । यसअघि संसदको चौथो पार्टी र दुई पटक गृहमन्त्री भएपनि उनी भारत भ्रमणमा गएका थिएनन् ।

प्रधानमन्त्री शाहसँग भेट नहुने भएपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो । यस्तै मे अन्तिमका लागि तय भएको परराष्ट्रमन्त्री शीशीर खनालको भारत भ्रमण पनि स्थगित भइसकेको छ।