चीनको खानी दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
काठमाडौं । चीनको शान्शी प्रान्तमा भएको खानी दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । उक्त दुर्घटनामा परी ठूलो सङ्ख्यामा मानवीय क्षति भएकोप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुख व्यक्त गरेको छ ।
प्रधानमन्त्री कार्यालयले एक्समा प्रेसनोट जारी गर्दै, सरकारले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, दुर्घटनापछि अझै पनि बेपत्ता रहेका नागरिकहरूको सकुशल उद्धारको कामना समेत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘चीनको शान्सीमा भएको दुखद खानी दुर्घटनाबाट गहिरो दुःख लागेको छ, जसको परिणामस्वरूप धेरैको ज्यान गएको छ । शोकसन्तप्त परिवारप्रति हाम्रो हार्दिक समवेदना छ, र बेपत्ताहरूको सुरक्षित उद्धारको लागि प्रार्थना गर्दछौँ । यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनता मित्रराष्ट्र चीनको साथमा छौँ ।’
विस्फोट शुक्रवार स्थानीय समयअनुसार १९ः२९ बजे भएको थियो । घटनाको समयमा खानीमा २४७ जना कामदार कार्यरत थिए । दुर्घटना भएकै दिन कम्तीमा ९० जनाको मृत्यु भएको थियो ।
