साफ महिला च्याम्पियनसिप आजदेखि,नेपालले भुटानको सामना गर्दै
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै छ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दै छ। यो खेल नेपाली समय अनुसार दिउसो ४:४५ बजेदेखि गोवास्थित फतोरदा रङ्गशालामा सुरु हुँदै छ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि सुरु हुँदै छ।
साफ महिला च्याम्पियनसिप प्रतियोगिता आज देखि जेठ २३ गतेसम्म भारतको सञ्चालन हुँदै छ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले भाग लिएका छन् । समूह ए मा नेपाल, भुटान र श्रीलङ्का रहेका छन् भने समूह बी मा भारत, माल्दिभ्स र बङ्गलादेश रहेका छन् ।
प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलङ्कासँग खेल्ने छ। प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।
साफ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन्। त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के.,हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् । मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी,अनिता बस्नेत,अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन्।
