ध्रुव राईको कटाक्ष- प्रधानमन्त्री त कलाकार पनि हो,पैसा तिरेर भएपनि संसद्मा ल्याऔँ
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाह कलाकार पनि भएकाले ‘पैसा तिरेर भए पनि संसद्मा ल्याउनुपर्ने’ भन्दै कटाक्ष गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री शाहप्रति यस्तो व्यङ्ग्य गरेका हुन्। सभामुख डोलप्रसाद अर्यालले समय उपलब्ध गराउँदै ‘माननीय सदस्यज्यू,आफ्नो कुरा राख्नुस्’ भनेपछि सांसद राईले आफ्नो व्यक्तिगत स्वार्थ केही नभएको जवाफ दिए। आफ्नो त कुरै छैन सभामुख महोदय, जनताकै कुरा लिएर आएका हौँ,उनले थपे, ‘यहाँ हाम्रो केही छैन, तर हामी सिस्टममा हिँडिरहेका छैनौँ।
प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले लगातार विरोध गरिरहेका छन्। उनीहरूले प्रश्नोत्तरका लागि प्रधानमन्त्री शाह अनिवार्य रूपमा संसद्मा आउनुपर्ने माग गरिरहेका बेला सांसद राईले यस्तो टिप्पणी गरेका हुन्।
अहिलेको सरकारलाई प्रणालीमा हिँडाउन विपक्षी दलले सहयोग गरिरहेको दाबी गर्दै उनले भने,अहिलेको सरकारलाई कसैले सहयोग गरेको छ भने त्यो हामी नै होला।
प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको प्रति आक्रोश पोख्दै सांसद राईले सित्तैमा नआउने भए पैसा तिरेर भए पनि ल्याउनुपर्ने धारणा राखे।
‘हामीले हाम्रा प्रधानमन्त्रीको आवाज जनतासम्म पुर्याउन पाउनुपर्छ। बरु के चीज (शुल्क) रहेछ, जति महँगो भए पनि तिरौँ न १ सांसद राईले कटाक्ष गरे, ‘अब उहाँ त कलाकार मान्छे पनि हो। सायद पैसामा हिजोतिर हिँड्ने बानी भएर हो किरु’
उनले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित गराउनका लागि रुलिङ गर्न सभामुख अर्यालसँग आग्रह गरे। ‘यदि होइन भने देश र जनताप्रति उत्तरदायी हुनुपर्छ,राईले भने,प्रधानमन्त्री र सरकारलाई रुलिङ हुनुपर्छ।’
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत सत्ता पक्षका सांसदहरूलाई पनि प्रधानमन्त्री शाहलाई संसद्मा ल्याउन पहल गर्न आग्रह गरे। ‘सत्ता पक्षका माननीयज्यूहरूलाई मेरो अनुरोध छ– कम्तीमा सम्झाई(बुझाई प्रधानमन्त्रीलाई संसद्मा ल्याऔँ,’ सांसद राईले भने।
