सरकार वाचाअनुसार अघि बढेको दाबी,प्रश्न उठेपछि मन्त्रिपरिषद्का सदस्यले पनि पद छाड्नुपर्यो: परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल ले सरकारले चुनावमा गरेको वाचाअनुसार काम अघि बढाइरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठनपछि सार्वजनिक गरिएको ‘१०० बुँदे प्रतिबद्धता पत्र’ अनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम भइरहेको बताए । उनका अनुसार २०६३ पछिका सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन र ठूला भ्रष्टाचारका मुद्दा अनुसन्धानका लागि आयोग गठन गरिएको छ ।
मन्त्री खनालले सार्वजनिक रूपमा प्रश्न उठेपछि मन्त्रिपरिषद्का सदस्यहरूमाथि छानबिन गरिएको र आवश्यक परे पद छोड्नुपर्ने अवस्था आएको बताए । उनले सरकार सुशासन र पारदर्शिताको सवालमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।
सेवा प्रवाह सुधारलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले मन्त्रालयहरूले नागरिकलाई छिटो र सहज सेवा दिने दिशामा काम गरिरहेको जानकारी दिए । उनका अनुसार राहदानी सेवा सुधारपछि आवेदन दिएको भोलिपल्टै पनि प्राप्त गर्न सकिने अवस्था बनेको छ ।
