निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित

काठमाडौं। सरकारको पछिल्लो निर्णयअनुसार निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम गम्भीर सङ्कटमा धकेलिएको सङ्केत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको १२ गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो । सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमासम्बन्धी सेवा आकस्मिकबाहेक बन्द हुने उल्लेख छ ।

जेठ ११ गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौँ निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण,ओपीडी सेवा, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ । बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई १५ अर्ब भन्दा धेरै बक्यौता तिर्न बाँकी छ।

निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बिमाबापतको भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए। तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन् । उनीहरूले निर्णय पुर्नबिचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गरेका छन् ।

स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार पछिल्लो निर्णय अनुसार स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को परिवर्तित दररेट पनि आजैदेखि लागू भएको छ।

सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको उनले बताए।