कुशल भुर्तेलको शानदार शतकमा नेपालले चीनलाई दियो विशाल लक्ष्य
काठमाडौं । कुशल भुर्तेलको शानदार शतक तथा कुशल मल्ल र रोहित पौडेलको आक्रामक अर्धशतकमा एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनलाई विशाल रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो । यो नेपालका लागि दोस्रो सर्वाधिक योगफल समेत हो । यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाएको थियो।
कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा १२९ रन बनाए। उनले ५ चौका र १६ छक्का प्रहार गरे। यस्तै कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रनमा अविजित रहे।
भुर्तेलले खेलको नवौँ ओभरमा ६ छक्का समेत प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौँ खेलाडी समेत हुन् । चीनका लागि मा कुइनचेन र डेंग जिंकीले १-१ विकेट लिए ।
