प्रधानमन्त्रीको विवादित अभिव्यक्तिमा हर्कले भने-हुतिहारा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसदमा नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि टिप्पणी जनाएका छन्।

साम्पाङ आज संसद वैठकमा उपस्थित थिएनन्। लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर आफूहरुको प्रश्नको जवाफ दिनुपर्ने माग गरिरहेका उनी आजै अनुपस्थित हुन पुगेका हुन्। आज प्रधानमन्त्री सदन आउने भन्ने पूर्वजानकारी पनि थिएन।

सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्, ‘आज तालिकामा नभएको सदनको वैठक किन बोलाइयो भनेको त प्रमलाई सुटुक्कै बोलाउन थिएछ। १९ गते म आउँछु है।

आज संसदमा साम्पाङको अभाव त्यतिबेला खट्कियो, जब प्रधानमन्त्रीले भारतसँगको सिमा समस्याबारे विवादित अभिव्यक्ति दिए। प्रधानमन्त्रीले संसद रोष्ट्रममै उभिएर नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको भनेर बोलेका छन्। केही सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाए पनि कडा विरोध भने भएन। सायद साम्पाङ उपस्थित रहेको भए हंगामा मच्चाउँथे। सामाजिक सञ्जालबाट साम्पाङले छोटो टिप्पणी गर्दै प्रधानमन्त्रीलाई ‘हुतिहारा’ को संज्ञा दिएका छन्। उनले लेखेका छन्, ‘प्रमले त नेपालले भारतको भूमि मिचेको रैछ भनेको। हुतिहारा।