प्रधानमन्त्रीको ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति तथ्यहीनः सांसद राई
काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले दिएको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन् ।
आईतबार संघीय संसद भवन सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सार्वभौम संसदमा प्रधानमन्त्री शाहले बिना तथ्य कुरा गर्नु अशोभनीय भएको बताए । उनले प्रधानमन्त्रीको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि सुझबुझपूर्ण अभिव्यक्ति नदिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
उनले भने, ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्नेकुरा कि त तथ्यसम्मत ढंगले भन्न सक्नु प¥यो । यो, यो ठाउँ भनेर भन्न सक्नु प¥यो । तर प्रधानमन्त्रीज्यूले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरु भएको ठाउँमा आएर हामीले पनि भारतको सीमा मिचेका छौ भनेर एक खालको तथ्यहिन कुरा गर्नु भयो । आपत्ति छ । मानव अधिकार आयोगबारे पनि प्रधानमन्त्रीको टिप्पणी सुझबुझपूर्ण छैन ।’
सचेतक राईले प्रधानमन्त्री साहले संसदमा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसकेको जिकीर पनि गरे ।
