कार्की आयोग प्रतिवेदनः सुरक्षा संयन्त्रबारे अध्ययन गर्ने समितिको म्याद ४५ दिन थप

काठमाडौं । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्यअवधि थप गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन्।

‘२०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने,’ उनले भने ।

सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन भएको थियो।

२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरीका बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई सदस्य रहेको समिति गठन गरेको थियो।