सरकारले मानवीय संकट निम्त्यायो: कुलमान घिसिङ

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं उपत्यकाका नदी किनारबाट सुकुम्वासी बस्ती हटाउने सरकारको योजना बिना गरिएको कदमले मानवीय संकट निम्त्याएको बताएका छन्।

कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका ३६ वर्षीय भेषराज दर्जीको मृत्युपछि घिसिङले सामाजिक सञ्जालमा दुःख व्यक्त गर्दै सरकारको आलोचना गरेका हुन्। उनले विना योजना सुरक्षा बल प्रयोग गरेर बस्ती हटाउँदा हालसम्म तीन जनाले ज्यान गुमाएको दाबी गरे।

घिसिङले विस्थापितहरूलाई तत्काल पर्याप्त आवास, स्वास्थ्य सेवा, खानेपानी र सरसफाइ सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

घिसिङले लेखेका छन्-

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहनुभएका ३६ वर्षीय भेषराज दर्जीको निधनको खबरले अत्यन्त दुःखी र स्तब्ध बनाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुमबासीलाई व्यवस्थापन गर्ने स्पष्ट र दिगो योजना विना सुरक्षा बल परिचालन गरी बस्ती हटाउने कार्यले गम्भीर मानवीय संकट निम्त्याएको देखिन्छ। घरबारविहीन बनाइएका नागरिकमध्ये हालसम्म तीन जनाले ज्यान गुमाइसकेको दुःखद अवस्था छ। मृतक भेषराज दर्जीको स्वास्थ्य अवस्था जटिल रहेकाले विशेष उपचारको आवश्यकता रहेको तर आवश्यक उपचार र हेरचाह समयमै उपलब्ध हुन नसकेको तथ्य बाहिरिएको छ। यस घटनाले विस्थापित नागरिकको व्यवस्थापन, स्वास्थ्य सुरक्षा र आधारभूत मानव अधिकारप्रति राज्यको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको छ। सरकारले बस्ती हटाउने कार्यमा देखाएको तत्परताजस्तै प्रभावित परिवारको पुनर्स्थापना, सुरक्षित आवास, स्वास्थ्य सेवा तथा न्यूनतम मानवीय सुविधाको सुनिश्चिततामा पनि समान संवेदनशीलता र जिम्मेवारी देखाउन आवश्यक छ। होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पर्याप्त आवास, स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा अन्य आधारभूत सुविधा उपलब्ध गराई सम्मानजनक जीवनयापनको वातावरण सिर्जना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।