नेविसंघले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहल बालेको सीमा विवादको विषयलाई लिएर नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।
काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले राजीनामा मागेका हुन् ।
त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शनमा विद्यार्थीहरूले सरकार र प्रधानमन्त्रीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सीमा जस्तो गम्भीर राष्ट्रिय मुद्दामा सरकार प्रमुखबाटै आएको यस्तो हल्का भनाइले आम नेपाली नागरिकको भावनामा चोट पुगेको उनीहरूको भनाइ छ ।
