रास्वपालाई परिपक्व व्यवहार देखाउन राप्रपाको सुझाव
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा राप्रपाले सो सुझाव दिएको हो।
बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरुलाई भने, ‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरू देखाउनु भएन। देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरू गरियोस्।
प्रधानमन्त्री बालेन शाहले संसद्मा सीमा सम्बन्धमा दिएको मन्तव्य र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका बेला ‘हामीले विगतको भारी बोक्दैनौँ भनेर’ दिएको अभिव्यक्ति अपरिपक्व भएको राप्रपाको ठहर छ ।
भारत भ्रमणबाट फर्किएपछि रास्वपा सभापति लामिछानेले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए । लामिछानेले भारत भ्रमणमा कुराकानी भएका विषय र सरकारका लागि सुझाव संकलन गर्ने उद्देश्यले बैठक बोलाएका हुन्।
२१ फागुनको निर्वाचनमा झण्डै दुई तिहाइ बहुमतसहित सरकारको चलाइरहेको रास्वपाले सर्वदलीय बैठक बोलाएको यो पहिलोपटक हो । बैठक जारी नै छ।
