एसएसपी सुरेश काफ्लेले सम्हाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व

काठमाडौं। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यसहित वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० सुरेश काफ्लेले आजदेखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यभार सम्हालेका छन्।

नेपाल प्रहरीको विशेष ब्युरोबाट काज सरुवा भई ट्राफिक प्रमुखको जिम्मेवारीमा आएका एसएसपी काफ्लेले पदभार ग्रहणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उपत्यकामा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, ट्राफिक नियम उल्लंघन तथा सडक सुरक्षाका चुनौतीबीच काफ्लेको आगमनलाई ट्राफिक व्यवस्थापनमा नयाँ ऊर्जा र सुधारको अवसरका रूपमा हेरिएको छ।

प्रहरी संगठनभित्र अनुशासित, व्यावसायिक र परिणाममुखी अधिकृतका रूपमा परिचित काफ्लेले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री, चुस्त र सेवामुखी बनाउँदै नागरिकको विश्वास अभिवृद्धि गर्ने दिशामा काम गर्ने अपेक्षा गरिएको छ।

उनको नेतृत्वसँगै काठमाडौं उपत्यकामा ट्राफिक नियमन, सडक सुरक्षाको प्रवर्द्धन तथा यात्रु र चालकलाई सहज सेवा प्रदान गर्ने क्षेत्रमा थप सुधार आउने विश्वास गरिएको छ।