भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा पक्राउ परे वडाध्यक्षसहित ४ जना

काठमाडौं। एक जना भारतीय नागरिकलाई गैरकानुनी तबरले नागरिकता दिलाउन भूमिका खेलेको आरोपमा दाङका एक जना वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्।

सोही प्रकरणमा थप दुई जनाको खोजी भइरहेको छ। पक्राउ पर्नेमा राजपुर गाउँपालिका– ४ का वडाध्यक्ष ६५ वर्षीय रामेश्वर अहिर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका– ९ घर भएका राजपुर– ४ का वडा सचिव तथा स्थानीय पञ्जिकाअधिकारी ४७ वर्षीय राजेशकुमार कहर, वडाको कार्यालय सहायक ३४ वर्षीया मीना चौधरी र राजपुर– ४ का ४५ वर्षीय आलम जोल्दा पक्राउ परेका हुन।

पक्राउ परेका चारै जनालाई सोमबार नै जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यी चार जनासहित नागरिकतामा हस्ताक्षर गरेका इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवास र भारतीय नागरिक आयशा जोल्दाकाविरुद्ध प्रहरीले गत जेठ २० गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

चार जना पक्राउ परे पनि तत्कालीन कार्यालय प्रमुख खवास र भारतमा बिहे भइ गएकी आयशा पक्राउ परेका छैनन्।

पक्राउ परेका वडाध्यक्ष अहिर लगातार दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन्। २०७५ कात्तिक २८ गते वंशजका आधारमा बुवा सुनाउल्ला जोल्दाको नामबाट ४५ वर्षीय आलम जोल्दाले नागरिकता प्राप्त गरेको देखिएको छ।