दल त्याग गरेका एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको हो ।
एमालेको केन्द्रीय सचिवालयले ती जनप्रतिनिधिहरूले दल त्याग गरेको भनी गरेको निर्णयको प्रतिलिपिसहित आयोगलाई जानकारी गराएको थियो । सोही जानकारीका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) र नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगको मङ्गलवारको बैठकले उनीहरू निर्वाचित भएका पदहरू रिक्त भएको निर्णय गरेको हो।
पदमुक्त हुनेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं.१ का कमल बहादुर बानिया र वडा नं. ६ का कमल तामाङ रहेका छन् भने चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुरेश कुमार थापाको पद पनि रिक्त भएको छ ।
यस्तै, पाल्पाको माथागढी गाउँपालिका-१ का राज कुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका-७ का होमप्रसाद बजगाई र मोरङको लेटाङ नगरपालिका-४ का राम कुमार श्रेष्ठको पद रिक्त भएको आयोगले जनाएको छ ।
मोरङकै रंगेली नगरपालिका-१ का महेश कुमार खनाल र दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष मधुसुदन शर्मा पनि पदमुक्त भएका छन् ।

