साझा रणनीति बनाउन विपक्षी दलहरू छलफलमा
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा साझा रणनीति बनाउन विपक्षी दलहरू छलफलमा जुटेका छन् । बुधवार सिंहदरबारस्थित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र कूटनीतिक मर्यादामा आँच पुर्याएको ठहर गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरू आफ्नो विरोधलाई थप सशक्त बनाउने तयारीमा छन् ।
उनीहरूले प्रधानमन्त्रीले संसद्मा माफी माग्नु पर्ने माग राख्दै आएका छन् । यता, प्रधानमन्त्रीले भने संसद्मा सो विषयमा माफी नमाग्ने सत्तारुढ दल रास्वपाले जनाएको छ । बुधवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन ।
