कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्वासीले भने-सरकारले जाने ठाउँ देखाओस्, नभए पुरानै ठाउँ फर्कन्छौँ

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस्दै आएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले आफूहरूको व्यवस्थापन गरिदिन सरकारसमक्ष अनुरोध गरेका छन् ।

कीर्तिपुरको राधास्वी सत्संगका परिवारले बिहीबार एक सूचना जारी गर्दै पाँच बुँदामा सरकारलाई आफ्ना मागहरू राखेका हुन् । सरकारी निकायले असार ९ गते ५ दिनभित्र २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरूले आफूहरूलाई व्यवस्थापनका लागि जाने ठाउँ देखाउन भनेको हो ।

‘होल्डिङ सेन्टरबाट स्थायी व्यवस्थापन नहुञ्जेलसम्म सरकारको प्रत्यक्ष सेवा सुविधा पर्याप्त रूपमा दिइयोस् वा व्यवस्थापनका लागि हामीलाई जाने ठाउँ देखाइयोस्, हामी जान तयार छौँ,’ उनीहरूले भनेका छन् ।

विकल्प नदिईकन होल्डिङ सेन्टरबाट पनि बाहिर निकालेमा आफूहरूसँग जाने ठाउँ कतै पनि नभएकाले पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने बताएका छन्।

‘हामीलाई स्थायी विकल्प नदिईकन यस होल्डिङ सेन्टरबाट बाहिर निकालिएको खण्डमा हाम्रो कहीँ कतै बस्नेस्थान नभएकाले हामी पहिले नै बसोबास गरेको ठाउँमै गएर छाप्रो हाल्न बाध्य हुनेछौँ,’ उनीहरूले भनेका छन् ।