कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी भेगमा आंशिक बदली छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही तथा हिमाली क्षेत्रका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ । महाशाखाले हुरी चल्ने तथा भारी वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।