भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र आमाको जीवितै उद्धार

काठमाडौं। भेनेजुएलामा विनाशकारी भूकम्प गएको ३२ घण्टापछि भग्नावशेषबाट १८ दिनका नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ।

भूकम्पका बेला अपार्टमेन्टको आठौँ तलामा रहेकी दयाना पातिनो र उनका शिशुलाई उद्धारकर्मीहरूले पूरै भत्किएको संरचनाबाट उद्धार गरेका बीबीसीले जनाएको छ। बीबीसीसँग कुरा गर्दै पातिनोले जमिनमुनि पुरिँदा आफ्नो सानो छोरालाई छातीमा टाँसेर उद्धारकर्मी आउने प्रतीक्षामा प्रार्थना गरिरहेको बताउनुभयो।

उहाँका अनुसार भूकम्प आउँदा भाँडा माझ्दै गरेकोमा तत्कालै बच्चालाई काखमा लिनुभयो, शुरूमा हावामा उडिरहेकोजस्तो महसुस भएकोमा पछि फर्निचरहरूको बीचमा थिचिनुभयो।

फर्निचरको आड पाएपछि ३२ घण्टासम्म १ मिनेट पनि ननिदाई शिशुलाई छातीमा टाँसेर स्वास फेरेरनफेरेको थाहा पाउन उसको नाक जाँच गरिरहेको उहाँको भनाइ छ।

भेनेजुएलामा गएको बुधवार बिहान गएका ७।२ र ७।५ म्याग्निच्युडका २ वटा शक्तिशाली भूकम्पले कम्तीमा १ हजार ४५० जनाको ज्यान गएको पुष्टि भइसकेको छ । झन्डै ५० हजार जना मानिस हराइरहेका अनुमान छ।

भेनेजुएलाको यो विपद्मा एउटा नवजात शिशु अहिले सिङ्गो देशको आशाको किरण बनेको छ।