ट्राफिक प्रहरीले चिट काटेरै उठायो एक हप्तामा १ करोड १७ लाख बढी जरिवाना

काठमाडौं। एक हप्तामै ट्राफिक कारवाहीबाट १ करोड बढी राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले असार ८ गतेदेखि असार १४ गतेसम्ममा १ करोड १७ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।

यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने कुल १६ हजार ३ सय ३३ सवारीचालक कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका, नियमविपरीत राइड सेयरिङ गरेका, संकेत बत्ती उल्लंघन गरेका तथा तीव्र गतिमा सवारीसाधन चलाउनेहरुलाई कारवाही गरिएको छ।

त्यसबाहेक लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने,एकतर्फी सडकमा सवारीसाधन चलाउने,कालो सिसायुक्त सवारीसाधन चलाउने, पार्किङ निषेधित क्षेत्रमा पार्किङ गर्नेहरुलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।