विद्यालयले जबरजस्ती कपाल काट्न र शुल्क नतिरेकै कारण विद्यार्थीलाई अपमानित गर्न नपाइने
काठमाडौं। अबदेखि विद्यालयहरुले जबरजस्ती विद्यार्थीको कपाल काट्न वा कटाउन नपाउने भएका छन्। सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औँ संशोधन) मा यस्तो व्यवस्था गरिएको हो।
जबरजस्ती विद्यार्थीको कपाल काट्दा वा कटाउँदा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामा नकारात्मक असर पर्ने भन्दै त्यस्तो गतिविधि गर्न नपाइने नियमावलीमा उल्लेख छ।
अर्कोतर्फ विद्यार्थीको शारिरिक स्वरुप,पहिरन,शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने वा लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाउने पनि नियमावलीमा भनिएको छ।
यसअघि विद्यार्थीको इच्छा विपरीत विद्यालयहरुले जबरजस्ती विद्यार्थीको कपाल काट्ने वा काट्न लगाउने गरेका थिए। सो सम्बन्धी व्यापक गुनासो आएपछि नियमावलीमा सो व्यवस्था गरिएको हो।
अर्कोतर्फ कारवाहीका नाममा विद्यार्थीलाई लामो समयसम्म घाममा उभ्याउन पनि नपाइने नियमावलीमा उल्लेख छ। त्यस्तै, शुल्क नतिरेकै कारण विद्यार्थीलाई अपमानित गर्न नपाइने व्यवस्था पनि नियमावलीमा गरिएको छ।
