शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी: सभापति थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन्। शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्।
उनले शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र दलीयकरण शिक्षा क्षेत्रको सुधार नहुनुको प्रमुख कारण भएको बताए। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको उनको भनाइ छ। यद्यपि शिक्षा आफैँमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नसक्ने भुमिकाबारे गम्भीर बहस आवश्यक रहेको उनले बताए।
उनले मुलुकको समृद्धि र विकासका शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिका र योगदानबारे राजनीतिक वृत्तमा पर्याप्त बहस हुनु आवश्यक रहेको बताए। उनले सरकारले हतारमा परीक्षाफल प्रकाशित गर्ने र छिटो परिक्षाफल प्रकाशित हुनु ठूलो उपलब्धि ठान्ने सोचले हजारौँ विद्यार्थी समस्यामा परेको समेत बताए।
उनले कक्षा १० र १२ को परीक्षाफलको सन्दर्भमा देखिएका समस्याबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने समेत बताए।
