कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन: सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन्। आइतबार नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानुन र जिम्मेवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रताको सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट पारेका हुन् ।
उनले सरकारलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताए। सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पु¥याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानुनी व्यवस्था रहेको जिकिर गरे। कुनै विषयमा संवाद गर्न आवश्यक भए सरकार पत्रकारहरूसँग छलफल गर्न तयार रहेको बताए।
उनले भने ,‘ यो सरकारले प्रेस स्वतन्त्रता सङ्कुचन गर्न लागेको जस्तो संकेत उहाँहरूले गरेको मैले पाएँ । त्यस विषयमा चिन्तित नहुन सम्पूर्ण पत्रकार मित्रहरूलाई अनुरोध गर्न चाहन्छु । हामीलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी छ।
आज मूल प्रश्न प्रेस स्वतन्त्रता हुने कि नहुने भन्ने होइन । कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन । तपाईँहरूले नै भनिरहनुभएको छ, यो संवैधानिक अधिकार हो। फेरि तपाईँहरू नै सरकारले प्रेस स्वतन्त्रता दिएन भन्नुहुन्छ।
यदि सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पु¥याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानुनी व्यवस्था छन्। तर सञ्चार मन्त्रालयको तर्फबाट म पूर्ण प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
कुनै विषयमा संवाद गर्न आवश्यक छ भने हामी बसेर छलफल गर्न तयार छौँ । कहिलेकाहीँ कतिपय विषय व्याख्या र न्यारेटिभका कारण फरक ढङ्गले बुझिन सक्छन् ।
कुनै विषयलाई कसैले प्रेस स्वतन्त्रताको हनन भएको ठान्नसक्छ भने अर्काले त्यो प्रेस स्वतन्त्रता हननको विषय होइन भन्न पनि सक्छ। त्यस्ता विषय छन् भने बसेर सल्लाह र छलफल गर्न सकिन्छ। त्यसैले आजको मूल प्रश्न प्रेस स्वतन्त्रता छ कि छैन भन्ने होइन।
हामी यस्तो अवस्थामा छौँ, जहाँ कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन। तर मेरो विचारमा यहाँ सबैको हितका लागि मूलभूत प्रश्न सरकार जिम्मेवार हुनुपर्छ भन्ने हो।
यस विषयमा कुनै विवाद छैन। सरकार जिम्मेवार हुनैपर्छ। यदि सरकार कतै गैर जिम्मेवार भएको छ भने त्यसबारे प्रश्न उठाउनु पत्रकारहरूको सबैभन्दा ठूलो दायित्व हो। त्यसमा कुनै शङ्का छैन।
मन्त्री तिमिल्सिनाले सरकार गैर जिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठूलो दायित्व भएको जिकिर गरे ।
