एपीएफ स्कुलको आर्थिक अनियमितता प्रकरण: सशस्त्र प्रहरी इन्स्पेक्टर गुरुङ पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको आर्थिक अनियमितता प्रकरणमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङ पक्राउ परेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार गुरुङ र उनका साथी लीला लामा शनिबार ठमेलबाट पक्राउ परेका हुन्। उनीहरूमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

गुरुङ एपीएफ स्कुलमा लेखा प्रमुखका रूपमा कार्यरत थिइन्। विद्यालयको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर दुरुपयोग गरेको आरोप उनीमाथि छ। उजुरीअनुसार विगत चार वर्षमा करिब साढे ४ करोड रुपैयाँ अनियमितता भएको दाबी गरिएको छ।

घटनाबारे सशस्त्र प्रहरी मुख्यालयले चार आर्थिक वर्षको बैंकिङ कारोबारको विवरण मागेर छानबिन गरिरहेको थियो। अनुसन्धानका क्रममा केही अन्य अधिकारीहरूको संलग्नताबारे पनि छानबिन भइरहेको बताइएको छ।

यसैबीच, कल्याण महाशाखामा कार्यरत डीएसपी महेन्द्र हमाल पनि छानबिनको दायरामा रहेको स्रोतले जनाएको छ। विद्यालयमा यसअघि पनि रासन व्यवस्थापनमा अनियमितता भएको आरोपसहित विभिन्न निकायमा उजुरी परेको थियो।