महँगी र बेरोजगारी नियन्त्रणमा सरकार असफल: नागरिक समाज

काठमाडौं। स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको १०० दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ।

सरकारको १०० दिनको समीक्षा गर्न आज काठमाण्डौको माइतीघरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका कामकारबाहीबारे मिश्रित प्रतिक्रिया दिएका हुन्।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी, बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढेको आरोप लगाउनुभयो।

सरकारले संसदलाई भूमिकाविहीन बनाएको, अध्यादेशमार्फत कानुन संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दाबी थियो।

यद्यपि, शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको छ। शिक्षाविद् प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा १० र १२ को नतिजा छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो।

त्यस्तै, राजनीतिक विश्लेषक देवेश झाले भ्रष्टाचारविरुद्धको अभियान,सरकारी जग्गा अतिक्रमण हटाउने कार्य र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। तर जनजीविका र सुकुम्वासी व्यवस्थापनमा सरकार अझै गम्भीर हुनुपर्ने उनीहरूको सुझाव छ।