सरकारको १०० दिनमा ६ हजार १४५ जना कर्मचारीमाथि कारबाही
काठमाडौं। सरकारले सय दिनमा ६ हजार बढी राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ। शनिबार सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सय दिनको अवधीमा ६ हजार १४५ जना कर्मचारीमाथि कारबाही गरिएको जानकारी दिएका हुन्।
सय दिनमा ७८७ जना कार्यालय र योजना अनुगमन गरिएको र त्यस क्रममा सो संख्यामा कर्मचारीहरूलाई कारबाही गरिएको उनले बताएका हुन्।
त्यस क्रममा ७ वटा मुद्दा दायर गरिएको र १०१ जना व्यक्ति तथा संस्थाविरूद्ध मुद्दा दायर गरिएको मन्त्री पोखरेलले जानकारी दिए। मुद्दा प्रक्रियामा ११८ अर्ब बिगो दाबी गरिएको पनि उनले बताए।
त्यस्तै ६६६ जना विचौलियालाई नियन्त्रणमा लिइएको र त्यसमा १७० वटा मुद्दा दर्ता गरिएको उनले बताए।
निजी सम्पत्ति विरूद्धको अपराधमा पनि १३ हजार ६९६ जनालाई नियन्त्रणमा लिइएको र त्यसमध्य ६ हजार १९५ मुद्दा दर्ता गरिएको उनले बताए।
सुशासन तर्फ १५ सय भन्दा बढी राजनीतिक नियुक्ति खारेज गरिएको, हेलो सरकारबाट प्राप्त १० हजार ९३२ गुनासोमध्ये ८७७ वटा समाधान र ३ हजार भन्दा बढी गुनासो समाधानको प्रक्रियामा रहेको मन्त्री पोखरेलले जानकारी दिए। १५००भन्दा बढी राजनीतिक नियुक्त खारेज गरिएको बताए।
