सशस्त्र प्रहरी प्रधान कार्यालयले भन्यो-अबैध क्रियाकलापमा संलग्न देखिए जुनसुकै दर्जाका भएपनि कडा कारबाही हुन्छ
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापमा संलग्न देखिए जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। सशस्त्र प्रहरी बलले मंगलबार विज्ञप्ति जारी गरी अबैध क्रियाकलापमा संलग्न देखिए कारबाही गर्ने बताएको हो।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुको आर्थिक सुशासन, कार्यसम्पादन र अनुशासनमा त्रुटि भेटिएमा तत्कालै छानविनमा ल्याई कारबाही गरिने बताएको छ।
यसैक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी मातहत कार्यालयहरुमा कार्यरत सशस्त्र प्रहरी हवल्दार हरिबहादुर मगरसहित तीन जनाको अनुशासन र कार्यसम्पादनमा त्रुटि भेटिएपछि छानबिन शुरु गरेको हो । उनीहरुलाई असार १० गते प्रधान कार्यालयमा झिकाई छानबिन प्रक्रिया शुरु गरिएको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालयहरू मातहत सीमा सुरक्षा गुल्मका गुल्मपति तथा बिओपीका कमाण्डहरुको कार्यसम्पादन कमजोर देखिएपछि ९ जनालाई फिर्ता बोलाईएको छ । त्यस्तै अनुशासनविपरीत कार्य गर्ने ६७ जना कर्मचारीहरुलाई समेत कारवाही गरिएको हो ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सीमामा राजश्व चुहावट, अवैध क्रियाकलाप, चोरीतस्करी नियन्त्रण कार्यलाई सुदृढ गर्न तथा आर्थिक सुशासन कायम गर्ने हेतुले एउटै जिल्लामा लामो समय कार्यरत रहेका १ हजार ८ सय ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई अन्तर जिल्ला सरुवा गरेको हो ।
सरुवा गरिएका कर्मचारीहरु तराईबाट पहाड र पहाडबाट तराई मिलान गरिएको हो, भने बाँकी सशस्त्र प्रहरी कर्मचारीहरूलाई यसै हप्ता अन्तर जिल्ला सरुवा गरी सकिनेछ।
संगठनले सीमा अपराध र तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ भने आर्थिक अनुशासन विपरीत कार्यमा संलग्न भएमा जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
