उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा

काठमाडौं। उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ७६ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमध्ये नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२९ जना, लेन अनुशासन पालना नगर्ने १३९ जना, र संकेत बत्ती (ट्राफिक लाइट) उल्लंघन गर्ने १२६ जना रहेका छन्।

त्यस्तै तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १८९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२४ जना, मादकपदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ६८ जना, सडक फुटपाथमा पार्किङ गर्ने ८५ जना, र एकतर्फी (वान वे) सडकमा सवारी गुडाउने ५९ जना चालक कारबाहीको दायरामा आएका छन्।

यी बाहेक अन्य विभिन्न सवारी नियम पालना नगरेका एक हजार १५७ जना चालकलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ।

यसरी नियम मिच्ने चालकहरूमाथि गरिएको जरिवाना र कारबाहीबाट राज्यकोषमा कुल रु १९ लाख ७१ हजार ५०९ राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।